८ जेठ, काठमाडौँ। डा बाबुराम भट्टराई नेतृत्वबाट अलग भएको नेपाल समाजवादी पार्टीभित्र विवाद बढेको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयलाई लिएर पार्टी अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूहबिच विवाद बढेको हो।
सहअध्यक्ष श्रेष्ठले आफ्नो समूह माओवादी केन्द्रसँग पार्टी एकताको तयारीका लागि जेठ ११ गते पार्टीको बैठक बोलाएका छन् भने उक्त बैठक पार्टीको आधिकारिक नभएको भन्दै अध्यक्ष यादव समूहका महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति निकालेर खण्डन गरेका छन्।
यादव समूह यथास्थितिमा एकतामा नजाने अडानमा छ। श्रेष्ठ समूह भने तत्काल पार्टी एकतामा जाने तयारीमा जुटेको हो।
यादव समूहको विज्ञप्ति जारी गर्दै ११ जेठमा पार्टीको केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको र नेकपा माओवादी केन्द्रबिच रूपान्तरणसहित एकता गर्न नेपाल समाजवादी पार्टी दृढ रहेको जनाएको छ। “नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ। ” विज्ञप्तिमा उल्लेख छ।
मध्य पहाडी लोकमार्ग केन्द्रित पार्टीको अभियानलाई छोडेर पार्टी एकताको लागि भन्दै माओवादी केन्द्रका अध्यक्ष लगायतको टोली काठमाडौँ फर्किने तयारी गरेको बताइएको छ।
