८ जेठ, तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो ।
उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।