९ जेठ, काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा हिजो बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेपछि कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ। अख्तियारले भिजिट भिसामा मानव तस्कर भइरहेको सूचनाको आधारमा छापा मारेको थियो।
गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशङ्का गरेको छ। यसअघि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ। अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ।
सरुवा हुनेमा नायब सुब्बा द्वय प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ सरुवा गरिएको छ। त्यस्तै अर्का नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको हो।
कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको बताइएको हो।