समाचार

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन

९ जेठ, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

पौडेलको गभर्नरमा नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापा लगायतले आज शुक्रवार सर्वोच्च प्रशासनमा निवेदन पेस गरेको र उक्त  रिट निवेदन अध्ययनको क्रममा रहेको बताइएको छ। 

 निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्र सम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि मौद्रिक, वाणिज्य वा बैङ्किङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख गरिएको छ।

निवेदन सर्वोच्चमा पेस भए पनि दर्ता भने भई नसकेको बताइएको छ। तर पौडेलले गभर्नरको रूपमा कार्यभार सम्हालिसकेका छन्। यसअघि उनीहरूले पौडेलको नियुक्ति रोक्न माग गर्दै रिट निवेदन दिएका थिए तर सर्वोच्चले उक्त रिटलाई दरपिठ गरेको थियो ।