राजनीति

भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्छ: वरिष्ठ नेता डा. कोइराला 

१० जेठ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको विषयमा प्रश्न उठिसकेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन्। आज शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लेखकलाई आग्रह गरेका हुन्। विगतमा पनि केही मन्त्रीले राजीनामा दिएर छानबिनलाई सघाएको कोइरालाको तर्क थियो। राजीनामा दिँदा उनकै नैतिकता उच्च  हुने नेता कोइरालाको भनाइ छ। 

केही दिन यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भिजिट भिसामा विदेश पठाउने नाममा उनीहरूबाट मोटो रकम लिने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो। सोही विषयमा गृहमन्त्री लेखकको समेत भूमिका रहेको जस्ता समाचार विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए।