१० जेठ, काठमाडौँ। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अध्यागमनको घटनाको विषयमा गृहमन्त्रीको संलग्नता नभएको बताएको छ। आज शनिवार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भिजिट भिसा प्रकरणमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको हो ।
मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। विज्ञप्तिमा उक्त घटनाको बारेमा सत्य तथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न भनिएको छ। ‘कुनै पनि गैर कानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ। गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ ।
विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्णसहयोग रहनेसमेत उल्लेख छ ।
उनले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाएका छन् । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ ।
‘यस्ता कुनै पनि गैर कानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,’ गृह मन्त्रालयका सहसचिव छवि रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
