११ जेठ, काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका छन्। आज आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले एउटा कर्मचारीले गल्ती गर्दा उ स्वयम् जिम्मेवार हुने भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने तर्क गरेका हुन्।
नेता सिटौलाले गृहमन्त्री लेखकको बचाउ गर्दै कर्मचारीको गल्तीमा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ भन्नु गलत भएको जिकिर गरे। , उनले यस्तो तरिका अपनाउँदै जाने हो भने राज्य व्यवस्था नै नचल्ने बताए।
यस अघि विराटनगर पुगेका काँग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले भ्रष्टाचारको सन्दर्भमा कुरा उठेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताएका थिए।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अध्यागमन विभागमा भिजिट भिसाको नाममा मोटो रकम असुल गर्दै मानव तस्कर गर्दै आएको आरोपमा पक्राउ गरेर बयान लिएको थियो।
उनकै बयान भन्दै सरकारमा गृहमन्त्री लेखकले दैनिक ५० लाख रकम बुझ्दै आएको कुरा विभिन्न मिडियाले प्रसारण गरेपछि उनका माथि प्रश्न उठेको हो। लेखकले भने आफूमाथि षड्यन्त्रपूर्वक गलत आरोप लगाएको भन्दै पर्सि १३ गते बस्ने संसद् बैठकमा जवाफ दिने बताउँदै आएका छन्।