११ जेठ, ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आज ललितपुर नगरप्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा उनले कुनै पनि विपद् आइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्ने बताए।
“हामीले विपद्मा काम गर्न नगर प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाएका छौँ, आजको तालिमले पनि यसलाई सहज बनाउँछ, सुक्ष्म तवरले प्रशिक्षण दिन सक्ने व्यक्तित्व तयार गरेका छौँ । ललितपुर महानगर विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागिपरेको छ”, महर्जनले भने । विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहकार्यमा पहिलोपटक तालिम भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए ।
“विपद् न्यूनीकरणका क्षेत्रमा काम गर्न ललितपुर महानगर अगाडि छ र प्रभावकारी ढङ्गले काम पनि गरिरहेको छ”, महानगरप्रमुख महर्जजले भने । उनले विपद् आउनुपहिला नै तयारी अवस्था बस्नुपर्ने भन्दै संवेदनशील भएर पूर्वतयारी, उद्धार तथा राहतमा जुट्नु सबैलाई आग्रह गरे ।
महानगरप्रमुख महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार तयार हुनुपर्ने भन्दै यस वर्ष रु पाँच करोड बजेट छुट्याएर काम गरिएको जानकारी दिए। उनका अनुसार महानगरका विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार गरिँदै छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेशप्रसाद भट्टले तीन वटै सरकारलाई समन्वय गर्ने दायित्व प्राधिकरणको भएको भन्दै विपद् जोखिम न्यूनीकरणका लागि स्वयंसेवक परिचालन गर्न नमूना परियोजनाका रूपमा यो तालिम सञ्चालन गरिएको बताए ।
उनले विपद्का समयमा उद्धारका लागि स्थानीय समुदाय पहिलो उद्धारकर्ता हुने भन्दै त्यसका लागि स्वयंसेवक विकाससम्बन्धी पाठ्यक्रम तयार गरेर अगाडि बढिरहेको उल्लेख गरे। हरेक टोलमा प्रहरी र सेना राख्न सम्भव नहुने हुँदा समुदायमा सीप, दक्षता अभिवृद्धि गरेर जोखिम कम गर्ने प्राधिकरणको उद्देश्य रहेको उनले जानकारी गराए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले समुदायस्तरबाट हुने उद्धार र प्रतिकार्य विपद्मा प्रभावकारी हुने भन्दै समुदायलाई सक्षम बनाउनुपर्नेमा जोड दिए । उनले समुदायस्तरमा स्वयंसेवक परिचालनका लागि यो तालिम एउटा शृङ्खलाका रूपमा रहेको भन्दै यस तालिमले उत्पादन गर्ने प्रशिक्षकले समुदायमा तालिम दिनसक्ने गरी तयार हुने विश्वास व्यक्त गरे ।
महानगरका प्रमुख प्रशाशकीय अधिकृत रेखादास श्रेष्ठले नेपालको भूगोल प्राकृतिक सुन्दरतासँगै विपद्को जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले तीनै तहका सरकारले समन्वय र सहकार्य गरी विपद् न्यूनीकरणका लागि योजनाबद्ध काम गर्नुपर्ने बताए । विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो तालिम महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गरे ।
उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्रोतसाधन र उपकरण पर्याप्त हुँदाहुँदै पनि भएका जनशक्ति दक्ष नहुँदा समस्या भएको भन्दै आगामी दिनमा यसता तालिमलाई निरन्तरता दिइने जानकारी दिए ।
ललितपुर महानगरका नगरप्रहरीलाई लक्षित गरेर सात दिनसम्म सञ्चालन हुने यो तालिममा विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा आधारित रहेर प्रयोगात्मक र सैद्धान्तिक सीप सिकाइने तालिमका संयोजक अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले जानकारी दिए।