समाचार

विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

११ जेठ, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।

अहिलेको झन्झटिलो नियम, कानुन र कार्यप्रणालीबाट विकास, समृद्धि र सुशासन सम्भाव नहुने धारणा व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताए ।

कृषि, पर्यटनलगायतका अधिकांश क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएको सूचना प्रविधिको क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्नेमा नगन्य बजेट विनियोजन हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको ध्यान जानुपर्नेमा जोड दिए ।“पर्यटन हाम्रो मुलुकको समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो तर, त्यसअनुसार राष्ट्रिय योजनाहरू बन्न सकेका छैनन्”, उनले भने, “हाम्रो मुलुकको आवश्यकता बुझेर योजनाहरू बनाउनुपर्छ ।”

मन्त्री गुरुङका अनुसार पर्यटन क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको र पर्यटकलाई सहज बनाउन टेलिफोन, इन्टरनेट र एआइजस्ता सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा आवश्यक बजेटसहित ध्यान दिन आवश्यक छ ।