११ जेठ, काठमाडौँ। काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा सरकारी वकिल कार्यालय काठमाडौँले ६१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। उनीहरूलाई राज्यविरुद्धको कसुरसमेतमा मुद्दा चलाइएको हो।
राज्यविरुद्धको कसुर मुद्दामा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित ५० जनालाई प्रतिवादी बनाइएको छ।
अरू ११ जनालाई आपराधिक उपद्रवमा मात्रै मुद्दा चलाइएको हो। सरकारी वकिल कार्यालयले चैत १५ गतेको आन्दोलनका कमान्डर भनिएको दुर्गा प्रसाईँसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा प्रतिवादी बनाइएको हो।
मुद्दा चलाउन सिफारिस गरिएका मध्ये चार जना नाबालक रहेका छन्। उनीहरू विरुद्ध बाल अदालतमा छुट्टै अभियोग दर्ता हुने बताइएको छ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ।
प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा १०८ जनालाई मुद्दा चलाउन भन्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाने निर्णय गरेको बताइएको छ।
चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। त्यस्तै सरकारी तथा निजी सवारी साधन तोडफोड ,आगजनी र लुटपाट समेत भएको थियो।