११ जेठ, काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालको पर्वतीय सम्पदाको महत्वलाई नेपाली जनजनमा पु¥याइनुपर्ने बताएका छन्।
गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष झाले देवभूमिसमेत रहेको हिमालयको संरक्षण र प्रवर्द्धनसँगै यसको महत्वलाई हरेक नेपालीको घरघरमा पुर्याइनुपर्ने बताए । उनले नेपालको अमूल्य निधि र सम्पदाको रुपमा रहेका राससद्वारा प्रदर्शित तस्बिरलाई राष्ट्रिय र अन्तरराष्ट्रिकरण गरिनुपर्ने बताए ।
उनले भने, “नेपालको अमूल्य निधिका रुपमा रहेका हाम्रा हिमालका बारेमा आमनेपालीलाई जानकारी गराउनुपर्दछ । प्रत्येक नेपालीले गौरव गर्न सक्ने वातावरण तयार गर्न सरकारको ध्यान जानुपर्दछ । मधेस, पहाड र हिमालका सबै नेपालीले हाम्रा हिमालका बारेमा स्पष्ट जानकारी पाउनुपर्दछ, त्यस्तो वातावरण सृजना भए मात्र गणतन्त्रको सार्थकता झल्कने छ ।”
अध्यक्ष झाले “हाम्रा हिमाल, पर्वत जीवन हुन् । राष्ट्रका निधि हुन् । हामीले यिनको संरक्षण कति गर्न सक्छौँ, हाम्रो दीर्घायु र समृद्धि त्यसैमा भरपर्छ”, उnले भने, “आध्यात्मिक साहित्यले पर्वतलाई महत्त्वपूर्ण सम्पदाको रुपमा चित्रण गरेको छ । देवताहरुको बास भएको सुन्दर र अनुपम भूमिसँग जोडिएका पर्वतीय सम्पदा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न जरुरी छ ।”
उनले फोटो प्रदर्शनीमार्फत राससले गरेको सृजनात्मक पहललाई सरकारले सम्पत्तिको रुपमा ग्रहण गरेर यसको महत्व र गरिमाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने खाँचो औँल्याए।
राससले फोटो प्रदर्शनीमार्फत सरकारले लिएको नीति र दृष्टिकोणलाई पालना गर्ने र यसको प्रभावकारिताका लागि पहलकदमी गर्दै आएको उको भनाइ थियो ।
राससका महाप्रबन्धक सिद्धराज राईले हालै काठमाडौँमा सम्पन्न अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ जोडेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र जलवायु परिवर्तनको मुद्दालाई उजागर गर्न सघाउ पुर्याउन उद्देश्यले गणतन्त्र दिवसकोे सन्दर्भमा ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी गरिएको बताए ।
उनले हिमाललाई ब्रान्डिङ गर्ने र वातावरणमैत्री पूर्वाधार निर्माणका पक्षमा सरोकार भएका सबैका बीच आवश्यक समन्वयसहित सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पर्वतीय पर्यटनमा आधारित तस्बिर प्रदर्शनीले जलवायु परिवर्तनको चपेटामा परेको नेपालका हिमाल र यसको संरक्षण प्रवर्द्धनमा सहयोग पुर्याउने धारणा व्यक्त गरे।
यही जेठ ३० गतेसम्म चल्ने रासस तस्बिर प्रदर्शनीमा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमाल, चर्चामा नआएका केही महत्त्वपूर्ण हिमाल, विभिन्न हिमशृङ्खला, महत्त्वपूर्ण पर्यटकीयस्थललगायतलाई समेटेर १०० तस्बिर राखिएको छ ।
राससकर्मी रोशा बस्नेत सम्मानित
सोही समारोहमा राससको अङ्ग्रेजी शाखाका सम्पादका एवं सगरमाथा आरोही रोशा बस्नेत सम्मानित भएकी छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खादा ओडाएर सम्मान गरेका हुन् । बस्नेतले सन् २०१८ को वसन्त ऋतुमा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण दल’मा आबद्ध भई सगरमाथाको सफल आरोहण गरेकी थिइन्।