११ जेठ, धरान । राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसले शुभकामना आदान–प्रदान र सहभोजको आयोजना गरेको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षता र केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा धरानमा कार्यक्रम भएको हो ।
पूर्व मन्त्री समेत रहेका मीनबहादुर विश्वकर्माले दलितहरु माथि चरम जातिय शोषण र छुवाछुत हुने गरेको र हाल पूर्वतिर कम हुंदै गएतापनि पश्चिमतिर अझैपनि विकराल अवस्था रहेको बताए । नेपाली कांग्रेसले हरेक जातजाति, समुदाय, वर्ग, लिङ्ग, धर्म, संस्कार, संस्कृति र परम्परा तथा भुगोलको न्यायोचित विकास गर्न समता र समुन्नतिको सिद्धान्त अनुरुप काम गरिरहेको बताए । उनले दलित भित्र मात्र नभएर ब्राम्हण, क्षेत्री, खस, आर्य समुदायभित्र पनि ठूलोसानो जातिको भावना रहेको र पकाएको खानेनखाने चलन रहेको भन्दै यस्ता सबैखाले व्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले नेपाली कांग्रेसको सरकार भएकै बखत राष्ट्रिय दलित आयोग गठन गरेको र नेपाली कांग्रेसकै नेतृत्वमा २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान तथा २०७२ सालको संविधानमा दलितको हक, अधिकारलाई सुनिश्चित गरिएको बताए ।
दलितहरु माथि भएको जातिय विभेद र छुवाछुतको अन्त्य गर्न २००९ साल जेठ १० गते वी.पी. कोइरालाको नेतृत्वमा वाहुन, क्षेत्री, आदिवासी जनजाति, मधेशी, मुस्लिम सबै जाति समुदाय र दलित समुदायवीचमा संगै बसेर खाएर सहभोज गरेको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय समता दिवसको रुपमा मनाउंदै आएको नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताए । उनले शुभमामना आदान–प्रदान र सहभोज भनिएतापनि यो कार्यक्रम एउटा अभियान, सचेतना, विचार गोष्ठि, अन्तरक्रिया भएको जिकिर गर्दै यसवाट सामाजिक सद्भाव र एकता वृद्धि भएर जाने विशवास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मिना सुब्बाले हक, अधिकार संविधानमा भएर मात्र हुंदैन यसको लागि आफै अग्रसर पनि हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातिय भेदभाव र छुवाछुतलाई पूर्ण रुपमा उन्मुलन गर्नुपर्ने बताए ।
त्यसैगरी कांग्रेसका कोशी प्रदेश सदस्य एवम् दलित विभाग प्रमुख गणेश परियारले नीति नियम बनेको भएतापनि कार्यान्वयन नभएको गुनासो व्यक्त गरे । शुभकामना दिने क्रममा कांग्रेस सुनसरी सचिव माधव घिसिङले समतामूलक समाजमा कुनैपनि जातिय विभेद हुनु हुंदैन भन्दै कार्यक्रमको प्रशंसा गरे ।
त्यस्तै नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नालले दलितको नाममा गैर दलितहरुले सुविधा र अवसर पाएको भन्दै रोष प्रकट गरे । नेपाल दलित संघका कोशी प्रदेश वरिष्ठ उपाध्यक्षले कार्यक्रमवाट सकरात्मक सन्देश गएको बताए ।
विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष खड्ग विश्वकर्माले नेपाली कांग्रेसले दलित समुदायमा भएको विभेद अन्त्य गर्न दिवसकै रुपमा कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गर्नुका साथै अहिलेको अवस्थामा समेत विभेदको शिकार हुनुपरेको भन्दै दुःख प्रकट गरे ।
नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरान १ का जनप्रतिनिधि वडा सदस्य रिता सुन्दासले दलित समुदायको हीतका निम्ति कार्यक्रम गरिएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरे । शुभकामनाकै क्रममा नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले आफ्नो परिवार नै उदार सोंच भएकाले सानैदेखि दलित साथीहरुसंग संगै खानेबस्ने गर्दै आएको स्मरण गर्दै पश्चिमतिरका वेला वेला भेदभावका समाचारहरु सुन्दा दुःख लाग्ने गरेको बताए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य प्रेम मुकारुङ राईले आप्mनो छिमेकीहरु दलित नै भएको र विभिन्न सुःखद क्षणहरुमा एकअर्काको घरमै गएर सहभोज गरिरहेको बताउंदै कार्यक्रमले एकताको सन्देश दिन सफल भएको बताए ।
मन्तव्यकै क्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(१) सचिव युवराज शंकरले दलित हकहीतका सन्दर्भमा कुरा मात्र हुने तर व्यवहारमा त्यस्तो अनुभूति गर्न नसकिएको बताए । त्यसैगरी धरान १६ का जनप्रतिनिधि वडा सदस्य मिरा वि.क. ले दलितहरु एक हुन नसेको भन्दै नेपाल दलित संघका नेतागणहरुले दलितहरु सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समिति, परियार सेवा समाज, मरिक सेवा समाज, वादी उत्थान समाज, गन्धर्व समाजका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभाका प्रत्यासी मिना पुलामी, नेपाली कांग्रेसका प्रदेशसभा १(२ं) का सभापति तथा धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, जनप्रतिनिधि सदस्यहरु वुना शंकर, शोभा विश्वकर्मा, अम्विका विशुङ्खे, रमिता श्रेष्ठ, जिल्ला सदस्य रत्न रिमाल, क्षेत्रीय सदस्यहरु कमला श्रेष्ठ, शिखा चेम्जोङ, विनोद तिम्सिना, ललिता वास्तोला, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, सदस्य कुशुम ओली, नगर सचिव हिमाल श्रेष्ठ, सहसचिव शिला बज्रचार्य, युनेश राना मगर, नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य अलिम अन्सारी, नेपाल महिला संघ जिल्ला सदस्य कोपिला गौतम, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय सदस्य धना लिङ्देन मगर, वडा सभापति उत्तम राई, नेपाल तरुण दल क्षेत्रीय सभापति अजय राई, नगर सचिव मनोहर श्रेष्ठ, नेपाल विद्यार्थी संघ महेन्द्र क्याम्पस ईकाई सभापति विनोद आले, स्ववियू सभाति प्रशान राई लगायतका पार्टी तथा भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेताहरुको सहभागिता रहेको थियो ।