११ जेठ, धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ विजयपुरडाँडाको शान्त परिवेशमा अवस्थित पिण्डेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उदाउँदै छ ।
‘अमृतपिण्ड पिण्डेश्वर महादेव’का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको समिश्रण हो । जहाँ दैनिक सयौँ श्रद्धालु दर्शनका लागि यहाँ पुग्ने गरेका छन् ।
काठमाडौँबाट परिवार र साथीसहित यहाँ पुग्नुभएका कुमार श्रेष्ठले बर्सेनि यस मन्दिर आउने गरेको बताए । उनले भने, “पिण्डेश्वर मन्दिरमा आउनासाथ शान्ति महसुस हुनुका साथै मनोकामना पूरा भएको अनुभूति हुन्छ । यही विश्वास र आस्थाका कारण यहाँ बर्सेनि आउने गर्दछु । यो मन्दिरप्रति मेरो गहिरो श्रद्धा र आस्था छ ।”
यससँग जोडिएका ऐतिहासिक र पौराणिक कथाले मन्दिरको विशेषता बढाएको छ । जनविश्वास अनुसार समुद्र मन्थनका बेला उत्पन्न अमृतको पिण्ड यही स्थानमा खसेको थियो, जसले यस मन्दिरलाई विशेष धार्मिक महत्त्व प्रदान गरेको छ । यही आस्थाका कारण यहाँ प्रत्येक दिन देशविदेशबाट श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।
“पहिलो पटक पिण्डेश्वर मन्दिर आएको हुँ, यहाँको वातावरणले मनलाई शान्त बनाएको छ”, मोरङको कानेपोखरीबाट दर्शन गर्न यहाँ आउनुभएका रमेशकुमार साहले भने, “यहाँ आएर दर्शन गर्दा मानसिक शान्ति मिलेको जस्तै महसुस भएको छ । यहाँको इतिहास र आस्थाले यो स्थान साँच्चिकै विशेष रहेछ, भन्ने महसुस भयो ।”
यहाँ साउनमा मन्दिर क्षेत्रको वातावरण धार्मिक उत्सवमा परिणत हुन्छ । साउनभरि एक महिनासम्म लाग्ने बोलबम मेलाको भाकामा सजिएका भक्तजन सप्तकोशी नदीबाट जल बोकेर मन्दिरमा अर्पण गर्न यहाँ आइपुग्छन् ।
साउने सोमबार, महाशिवरात्रि, तीज, माघे सङ्क्रान्ति, कात्तिक पूर्णिमालगायत पर्वमा यहाँ पूजासहित भक्तजनको घुइँचो लाग्ने गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए । उनका अनुसार पछिल्लो समय यहाँ शनिबार र मङ्गलबार पनि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
मन्दिरको बाह्यस्वरूप सामान्य देखिए पनि भित्र पस्दा यसको विशालता अनुभूति गर्न सकिन्छ । यहाँ भित्र १० वटाभन्दा बढी साना–ठूला मन्दिर रहेका छन् । शिवलिङ्गको ठीक अगाडि रहेको ढुङ्गाको बसाहा, ऐतिहासिक पोखरी र बीचमा रहेको सरस्वतीको मूर्तिले मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वलार्ई अझ बढाएको अध्यक्ष बनेपालीले उल्लेख गरे ।
यहाँ फूलमाला, प्रसाद, रुद्राक्षलगायत पूजाका सामग्री बिक्री गर्ने करिब ३० व्यापारी छन् । धरान–१४ की इन्दिरा खड्काले २२ वर्षदेखि मन्दिर पसिरमा फूलमाला बिक्री गर्दै आएक छन् । उनले भने, “भक्तजनको आगमन बढेकाले व्यापार पनि बढेको छ । विशेष गरेर शनिबार र मङ्गलबार बढी घुइँचो लाग्छ ।” उनीजस्तै यहाँका स्थानीय व्यवसायी वर्षौँदेखि मन्दिरमा आउने भक्तजनलाई सेवा दिँदै आएका छन् ।
पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रञ्जिता कट्वालका अनुसार दैनिक एक हजारदेखि पन्ध्रसय भन्दा बढी श्रद्धालु मन्दिरमा आउने गरेका छन् । प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला आयोजना हुने भएकाले यस क्षेत्रको धार्मिक महत्त्व बढ्दै गएको उनको भनाइ छ ।
यहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजना आउने गरेका समितिका अध्यक्ष बनेपालीले जानकारी दिए । उनका अनुसार मन्दिर सबैका साझा देउता भएकाले यहाँ सबै जाति, धर्मावलम्बीका मानिस पूजा गर्न आउने गर्दछन् ।
भक्तजनलाई बासस्थानको उचित व्यवस्था हुन नसक्दा केही समस्या हुँदै आएको कट्वालले बताए । मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नेपर्नेमा उनले जोड दिए ।