राजनीति

माओवादी केन्द्रको निष्कर्ष: भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ 

१२ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नु पर्ने बताएको छ।  आज सोमवार बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको हो। 

पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले अनुसन्धानलाई सघाउन राजीनामा दिनु पर्ने बताए। 

राज्यको निकायले नै अनुसन्धान सुरु गरेको विषयलाई सहयोग गर्न गृहमन्त्रीले राजीनामा दिनु पर्ने पदाधिकारी बैठकको निष्कर्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए। 

गृहमन्त्री लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भिजिट भिसामा मानव तस्कर गरेको र मोटो रकम असुली गर्ने गरेको आरोपमा विवादित बनेका छन् । उनले आफूलाई षड्यन्त्रपूर्वक तरिकाले आरोप लगाएको भन्दै यसका विषयमा संसद् बैठकमा जवाफ दिने बताएका छन्।