समाचार

‘काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक: मानव अधिकार आयोग

१२ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चिन्ताजनक रहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ।

आज सोमबार विज्ञप्ति जारी गर्दै आयोगले  ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन। यस परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ।’ भनेको हो। 

राजावादीहरूले जेठ १५ गतेबाट गर्न लागेको आन्दोलनको अनुगमन गरिदिन आग्रह गरेपछि आयोगले त्यसप्रति लक्षित अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

‘आगामी २०८२ जेठ १५ गतेबाट राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारी पत्र प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,।  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्ति प्रति आयोगले  ध्यानाकर्षण भएको बताएको हो।  प्रधानमन्त्रीले  आफ्ना नेता  कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा उल्लेख गरेको हो।