सामाजिक सञ्जाल

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो, आफू जिउँदो लास भएर हिँडेकी छु: निकिता पौडेल 

१२ जेठ, काठमाडौँ । श्रीमान् रवि लामिछानेलाई  सहकारी ठगी मुद्दामा उच्च अदालतको आदेश सदर गर्दै सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सुनाएपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेकी छन्।  उनले आज लामो स्टाटस लेख्दै आफू जिउँदो लास भएर हिँडेको बताएकी हुन्। 

पौडेलले सर्वोच्च अदालतले केही प्रमाण नभेटिँदा पनि आफ्ना श्रीमान् रास्वपाका सभापति लामिछानेविरुद्ध मुद्दा लगाइएको आरोप लगाएकी छन्।   

हेर्नुहोस् उनको स्टाटस:

त्रास अझैँ बाँकी छ …!

जेठ ९ गते शुक्रवार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगेँ। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आस मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो। 

हाम्रो तर्फबाट बहस राम्रो भयो। बेन्चका हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाफ।   बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्तै आधार दिएको ठानेँ। न्यायप्रतिको विश्वास झनै बढ्यो।

करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिस्ट्रार   (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। 

‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। 

‘श्रीमान् त निस्किनु भयो’ भनेर एक जना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता। बाहिर निस्किदा एक जना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढेँ’ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रूपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैर जिम्मेवार। अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ। 

शुक्रवारको तनाव, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन।

भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ। अन्यायको सिकार भएकी म, कसरी तङ्ग्रिएर हिँडे होला। कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो। साँझ काठमाडौँ फर्किए। 

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौँ? 

गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ!

#JusticeForRabiLamichhane