१३ जेठ, काठमाडौँ । गैर कानुनी तरिकाले गभर्नर नियुक्ति भएको भन्दै डा विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदन आज दर्ता भएको छ।
गभर्नर नियुक्ति बदरको माग गर्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा दायर गरेको रिट आज दर्ता भएको हो। पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मात्रै दर्ता भएको बताइएको छ। उनीहरूले ऐनको विरुद्ध रहेर राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबीसहित रिट दायर गरेका थिए।
निवेदकहरूले गभर्नरको हैसियतले नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको समेत माग गरेको बताइएको छ। राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को प्रतिकूल भएको निवेदकहरूको दाबी रहेको छ।