१३ जेठ, काठमाडौँ । आधा घण्टाको लागि स्थगित भएको संसद् बैठक अझै बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन नसकेको हो।
संसद् सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका थिए।
उनीहरू उच्चस्तरीय छानबिन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।