१३ जेठ, काठमाडौँ । महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा आरोपित सात अर्जेन्टिनी स्वास्थ्यकर्मीको मुद्दा सुरु भएको दुई महिनाभन्दा बढी समयपछि न्यायाधीशको निष्पक्षताबारे प्रश्न उठेपछि मुद्दा सङ्कटमा परेको छ ।
बचाव पक्षका वकिलहरूले न्यायाधीशको मुद्दासँग सम्बन्धित डकुमेन्ट्रीमा संलग्नताले उनको कर्तव्यको सम्भावित उल्लङ्घन, प्रभाव पार्ने काम र घुसखोरी समेत हुनसक्ने भनेपछि गत सप्ता मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो । मुद्दाको अध्यक्षता गर्ने तीन न्यायाधीशमध्ये एक जुलिएटा माकिन्टाचको सम्भावित निष्कासनले कार्यवाहीलाई रद्द गर्ने जोखिम छ ।
कोकेन र मदिराको लतसँग दशकौँसम्म सङ्घर्ष गरेपछि रगत जमेका कारण मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै घरमा रहँदा ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा म्याराडोनाको मृत्यु भएको थियो । शल्यक्रिया गरेको दुई सातापछि हृदयाघात र तीव्र फोक्सोको सूजनका कारण उहाँको मृत्यु भएको थियो र दिउँसो काम गर्ने नर्सले उहाँलाई ओछ्यानमा मृत फेला पारेका थिए ।
म्याराडोनाको चिकित्सक टोलीमाथि ब्युनस आयर्सको उपनगर सान इसिड्रोमा उहाँको निजी घरमा स्वास्थ्य लाभको अवस्थाको सम्बन्धमा मुद्दा चलिरहेको छ । अभियोजकहरूले अन्तिम दिनहरूमा फुटबल आइकनको हेरचाहलाई गम्भीर लापरवाहीका रूपमा वर्णन गरेका छन् ।
मुद्दाको सुनुवाइ मङ्गलबार पुनः सुरु हुने तयारी गरिएको छ । सुनुवाइमा कम्तीमा एक वकिलले माकिन्टाचलाई हटाउन माग गर्ने अपेक्षा गरिएको छ । यदि उनलाई मुद्दाबाट हटाइयो भने उनको ठाउँमा अर्को न्यायाधीश राख्न सकिन्छ कि सकिँदैन वा नयाँ न्यायाधीशहरूको प्यानलसहित मुद्दा सुरुदेखि नै सुरु गर्नुपर्छ कि पर्दैन भनेर निर्धारण गर्नुपर्नेछ ।
“यो यति ठूलो स्क्यान्डल हो कि सारा विश्वले अर्जेन्टिनाको न्यायलाई सबैभन्दा खराब उदाहरणका रूपमा हेरिरहेको छ”, म्याराडोनाका छोरीहरूका वकिल फर्नान्डो बर्लान्डोले गत हप्ता स्थानीय रेडियोलाई भने । समस्या भनेको मुद्दाको फिल्म खिच्न प्रतिबन्ध भएको भए पनि अदालतमा क्यामेराको कथित प्रयोग हो ।
माकिन्टाचले कुनै फिल्म खिच्नमा भाग लिएको वा अनुमति दिएको अस्वीकार गर्नुभएको थियो तर सप्ताहन्तमा अर्जेन्टिनी सञ्चारमाध्यमहरूमा साझा गरिएको फुटेजले मुद्दा सुरु हुनु अघिल्लो दिन उनलाई फिल्म टोलीले अन्तर्वार्ता लिएको देखाएको छ ।