१४ जेठ, काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले सामाजिक सञ्जाल देखी संसद्सम्म उठेका विषयमा आफू निर्दोष रहेको बताएका हुन्।
उनले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र आफू विरुद्ध राजनीतिक पूर्वाग्रही भएर आक्रमण भएको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने कुनै पनि अनुसन्धानका कारबाहीलाई खुल्ला मनले स्वीकार गर्ने समेत बताए।
लोकतन्त्र र विधिको शासनका लागि आफू लड्दै आएको भन्दै उनले आफ्नो व्यवहारले पनि त्यसलाई पुष्टि गर्ने जिकिर गरेका छन्।
‘लोकतन्त्र र विधिको शासनको लागि लड्दै आएको छु,’ लेखकले भने, ‘यस्तो व्यक्तिले सहयोग र थप कारबाही होस् भन्ने गरी क्रियाकलाप गरिरहेको छु, जुन मेरो विगतका क्रियाकलापले पुष्टि गर्छ।’
गृहमन्त्री लेखकले अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई आफूले अध्यागमन विभागमा नियुक्ति नगरेको दाबी गरे। उनले उक्त कर्मचारीलाई आफूले नपठाएको बताएका हुन्।