१४ जेठ, काठमाडौँ। भोलि जेठ १५ गते बाट सुरु हुने राजावादी आन्दोलनलाई सरकारले दमन गर्ने तयारी गरेको भन्दै संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको छ। समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै आफूहरूले गर्ने शान्तिपूर्ण आन्दोलनलाई सरकारले बर्बर दमन गर्ने तयारी गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनको लागि आग्रह गरेको हो।
सरकारका प्रधानमन्त्रीले १५ जेठमा काठमाडौँ एमालेको नियन्त्रणमा राख्नु भन्ने घोषणा गर्नु र सरकारका प्रवक्ताले प्रतिबन्ध लगाउन सकिन्छ भन्ने अभिव्यक्ति दिएकोले सरकार मानव अधिकारको हनन तथा प्रजातान्त्रिक हक अधिकारलाई कुण्ठित गर्न खोज्दै छ भन्ने प्रमुख आधार भएको विज्ञप्तिमा उल्लेख छ। सरकारले तीनकुने घटना जस्तै नियोजित तरिकाले आक्रमण गरी आन्दोलनलाई हिंसात्मक बनाउन सक्ने सम्भावना भएकाले अनुगमन गरिदिन मानव अधिकार आयोगलाई अनुरोध गरेको छ।
विज्ञप्तिमा नागरिक सर्वोच्चता, प्रजातन्त्रको आदर्श तथा मानव अधिकारको मूल्य मान्यता प्रति संयुक्त जनआन्दोलन समिति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख छ।
