१५ जेठ, काठमाडौँ । नेकपा माओबादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै, रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको बताएका छन् ।
उनले जनताको जीवनमा गुणात्मक परिवर्तन हुन सकेन । त्यसैको परिणास्वरूप आज जनतामा असन्तुष्टी, आकोश र निराशा पैदा भएको छ र देश संकटग्रस्त बन्न सक्ने खतराहरु देखा परिरहेको भनेका छन् ।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले
ऐतिहासिक महत्वको युगान्तकारी राजनीतिक परिवर्तन पछिको यस अवधिमा राजनीतिक नेतृत्व र सरकारमा देखापरेको सत्तालोलुप, भ्रष्ट, अलोकतान्त्रिक एवं निरङ्कुश प्रवृत्ति जबर्जस्तरुपमा हावी भएको भन्दै असन्तुष्टी पोखेका छन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाईः
नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन २०६५ जेठ १५ गतेलाई स्मरण गर्दै १८ औं गणतन्त्र दिवस २०८२ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बा आमा, दिदी बहिनी, दाजु भाईहरु सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको गणतन्त्र परम्परागत संसदीय गणतन्त्र मात्र नभएर नेपालमा मौलिक ढंगले स्थापित समाजवादउन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले आज गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवादउन्मुख समावेशी लोकतन्त्रको रक्षा गर्नु पनि हो भन्ने कुरामा स्पष्टता आवश्यकता छ ।
यो ऐतिहासिक परिवर्तनको बिरुध्द यतिबेला प्रतिगामी शक्तिहरूले टाउको उठाउन खोजिरहेका छन् । यस्तो परिस्थिति उत्पन्न हुनुमा नेपालका प्रमुख राजनीतिक पार्टीहरु ,तिनका नेताहरु , मूलतः नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीहरूको यथास्थितिबादी प्रवृत्ति जिम्मेवार छ । यथास्थितिवादमा नै प्रतिगमनको खतरा अन्तर्निहित रहेको छ ।सुशासन र समृद्धिको आजको राष्ट्रिय आवश्यकताका बिरुद्ध मूलतः सरकार र सरकारमा रहेका पार्टीहरूको भ्रष्ट, अलोकतान्त्रिक, निरङ्कुश एवं कपटी काम ,आचरण ,कार्यशैलीको कारणबाट जनतामा असन्तुष्टी, आकोश र निराशा पैदा भइरहेको छ र त्यसमा टेकेर प्रतिगामी शक्तिहरूले आफ्ना गतिविधिहरु अघि बढाइरहेका छन् ।
तसर्थ सबै नेपालीले बुझ्नुपर्ने कुरा होः
ऐतिहासिक महत्वको युगान्तकारी राजनीतिक परिवर्तन पछिको यस अवधिमा राजनीतिक नेतृत्व र सरकारमा देखापरेको सत्तालोलुप, भ्रष्ट, अलोकतान्त्रिक एवं निरङ्कुश प्रवृत्ति जबर्जस्तरुपमा हावी भएको,
राजनीतिक अस्थिरता र त्यसको कारणबाट उत्पन्न नीतिगत अस्थिरताले सकारात्मक कामले निरन्तरता प्राप्त गर्न नसकेको,
र, राज्यका अन्य महत्वपूर्ण अंगहरु न्यायालय, कर्मचारीतन्त्र ,अख्तियार, विश्वविद्यालय सहितको शिक्षा क्षेत्रमा लोकतान्त्रिक रुपान्तरण र पुनसंरचना हुन नसकेको र राजनीतिक भागबन्डा एवं अति राजनीतिकरणको कारणबाट ती अंगहरुमा समेत चरम भ्रष्टाचार संस्थागत भई देश र जनताको पक्षमा अपेक्षित सकारात्मक परिणाम दिन नसकेको,
कारणबाट देशमा ऐतिहासिक परिवर्तनको अन्तर्निहित निर्देश अनुरुप, नेपाली समाजको आजको आवश्यकता अनुरूप र नेपाली जनताको अपेक्षा अनुसार सामाजिक आर्थिक रुपान्तरण वा आर्थिक विकास र समृद्धिले फडकोमारी तिब्रता प्राप्त गर्न सकेको छैन । जनताको जीवनमा गुणात्मक परिवर्तन हुन सकेन । त्यसैको परिणास्वरूप आज जनतामा असन्तुष्टी, आकोश र निराशा पैदा भएको छ र देश संकटग्रस्त बन्न सक्ने खतराहरु देखा परिरहेका छन् ।
तसर्थ यथास्थितिवादलाई अन्य गरी सुशासन र सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्नु आजको राष्ट्रको प्रमुख कार्यभार हो र त्यसद्वारा नै प्रतिगमन लाई परास्त गर्न र प्रतिगमनको खतरालाई अन्त्य गर्न सकिन्छ । प्रतिगमन मुर्दाबादको राजनीतिक नाराले मात्र प्रतिगमनका खतरालाई अन्त्य गर्न सकिन्न ।प्रतिमालाई रोक्ने अचुक अस्त्र सुशासन र समृद्धि हो ।
त्यसको लागि,
सबै राजनीतिक दलहरु र समग्र नेपाली राजनीतिमा ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण र लोकतान्त्रिकरणको महा अभियान वा आन्दोलन सञ्चालन गरौं र राजनीतिलाई सफा गरौं,
नेपालमा विकास र समृद्धिको पूर्व शर्त बनेको भ्रष्टाचार एवं अनियमितता विरोधी सुशासन अभियानलाई तिब्र पारौं र सुशासन, समृद्धि र सामाजिक न्यायको तात्कालिक प्रमुख राष्ट्रिय कार्यभारलाई पूरा गरौं,
अग्रगामी संविधान संशोधन र ठूलो सुधार को एजेण्डालाई अभियानात्मक रुपमा अघि बढाऔं,
र, सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं, राष्ट्रिय एकता बलियो बनाऔं र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता एवं हितको रक्षा तथा सुदृढीकरण गरौं।देशको पहिचान र स्वाभिमानलाई उच्च बनाऔं।
हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर, न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही, रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।


