प्रवास

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

१६ जेठ, काठमाडौं । नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ ।

समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचारी र युएईमा रहनुभएका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले गणतन्त्र दिवसका अवसरमा युएईलगायत देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरे । महामहिम राजदूतले नेपाली जनताको ठूलो बलिदानपछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो विकास, शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको बताए ।

महावाणिज्यदूत हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सबैले इमान्दार, कर्तव्यनिष्ट र देशप्रेमको भावनाले कार्य गर्न र मुलुकप्रति समर्पित हुन आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे।

सो अवसरमा युएईमा क्रियाशील विभिन्न राजनीतिक दलसँग आबद्ध सङ्घसङ्गठन तथा एनआरएनए एनसीसी युएई, पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि आ–आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिए । राजदूतावासले गणतन्त्रका दिवसका अवसरमा तीन दिनसम्म साँझ दीपावली गरी मनाउने कार्यक्रम तय गरेको छ ।