समाचार

आलमलाई जेल मुक्त गराउने न्यायाधीश विरुद्ध न्यायपरिषदमा उजुरी 

१६ जेठ, काठमाडौँ। इट्टा भट्टामा  जिउँदै मान्छे जलाएर हत्या गरेको आरोप लागेका  पूर्व मन्त्री मोहम्मद आफ्ताव आलम लगायतलाई सफाइ दिने दुई न्यायाधीशहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

 रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इट्टा भट्टाको आगोमा जलाएर मारेको आरोप लागेकालाई सफाइ दिने फैसला गरेको भन्दै न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न निवेदन परेको हो। 

निवेदन युवराज पौडेलले  दिएका हुन्।  उनले दुवै न्यायाधीशलाई निलम्बन गरेर अनुसन्धान गर्नु पर्ने निवेदनमा उल्लेख गरेका छन्। न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लङ्घनको आरोपमा न्यायाधीशहरूमाथि छानबिन हुनसक्ने व्यवस्था छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमलाई सफाइ दिएको थियो।