१६ जेठ, काठमाडौँ। गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ। आज प्रकाशित सूचना अनुसार गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले आज शुक्रवार सूचना जारी गर्दै बढुवा भएकाहरूको नामावली सार्वजनिक गरेको हो।
बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।
बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजीमा बढुवा भएका सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा जिम्मेवारी दिइएको हो।
विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ। दीपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दीपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन्। माधव प्रसाद श्रेष्ठले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। दिलीप सिंह देउवा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा र दीपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।
ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, सञ्जीव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्।