१६ जेठ, काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार गाजाको मानवीय स्थितिमा उचित प्रतिक्रिया नदिएमा युरोपेली देशहरूले इजरायलविरुद्ध ‘सामूहिक स्थिति कडा पार्नुपर्ने’ बताएका छन्।
गाजामा बढ्दो भोकमरी सङ्कटलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा म्याक्रोनले ‘आगामी केही घण्टा र दिनहरूमा’ कारबाही आवश्यक रहेको बताए ।उनले प्यालेस्टिनी राज्यलाई शर्तसहित मान्यता दिनु ‘नैतिक कर्तव्य मात्र नभई, राजनीतिक आवश्यकता पनि हो’ भनी जोड दिए ।
म्याक्रोन दक्षिणपूर्वी एसियाको कूटनीतिक भ्रमणमा छन् । उनले यस हप्ताको सुरुमा भियतनाम र इन्डोनेसियाको भ्रमण पनि गरेका थिए।
जकार्तामा हुँदा म्याक्रोन र इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तोले गाजालाई नियन्त्रण लिने इजरायली योजना र ‘प्यालेस्टिनी जनसङ्ख्यालाई आफ्नो मातृभूमिबाट जबरजस्ती हटाउने’ कुनै पनि कदमको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरे ।
पेरिसले ‘केही सर्तमा प्यालेस्टिनी राज्यका लागि मान्यताको आन्दोलनलाई अगाडि बढाउने’ आशा गरेको छ । यसमा हमासको विसैन्यीकरण र इजरायलको अस्तित्व र आफ्नो रक्षा गर्ने अधिकारको मान्यता समावेश रहेको म्याक्रोनले इन्डोनेसियाको राजधानीमा बताए ।
दुई महिनाभन्दा बढी इजरायली नाकाबन्दीपछि यस क्षेत्रमा सहायता फिर्ता आउन थालेपछि पनि गाजाको मानवीय अवस्था डरलाग्दो रहेको छ ।
खाद्य सुरक्षा विज्ञहरूले पाँचमध्ये एक जना मानिस भोकमरीमा परेको बताएका छन् । हमासलाई नष्ट गर्ने नयाँ धक्काका रूपमा इजरायलले पनि आफ्नो सैन्य आक्रमणलाई तीव्र बनाएको छ ।