१६ जेठ, काठमाडौं। अर्को हप्ता इस्तानबुलमा रुस र युक्रेन बीचको सम्भावित दोस्रो चरणको प्रत्यक्ष वार्ताअघि किएभको भ्रमण गरेका टर्कीका विदेशमन्त्रीले शुक्रबार दुवै पक्षले युद्धविराम चाहेको बताएका छन्।
किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।रुसले सोमबार आयोजना गर्ने प्रस्ताव गरेको वार्तामा प्रतिनिधिमण्डल पठाउने कि नपठाउने भन्नेबारे किएभले अझै पुष्टि गर्न सकेको छैन ।
सबैभन्दा पहिला रुसले शान्तिका लागि रोडम्यापको आफ्नो दृष्टिकोण साझा गरोस् भन्ने युक्रेनले चाहेको छ । एउटा तथाकथित ‘ज्ञापनपत्र’ जुन मस्कोले अर्को वार्तामा युक्रेनी प्रतिनिधिमण्डललाई व्यक्तिगत रूपमा मात्र हस्तान्तरण गर्ने बताएको छ ।
“वार्ता सुरु हुँदै जाँदा यो मुद्दाले अझ आशावादी मोड लिन थालेको मैले देखेको छु । दुवै पक्ष युद्धविराम चाहन्छन् । कसैले पनि युद्धविराम नचाहेको भनेको छैन”, समाचार एजेन्सी अनादोलुका अनुसार विदेशमन्त्री हाकान फिदानले उहाँलाई किएभ लिएर गइरहेको ट्रेनमा भने ।
फिदानले यस साताको सुरुमा मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए।
शुक्रबार किएभ आइपुगेपछि उनले युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगासँग भेट गरे र मारिएका सैनिकहरूको स्मारक स्थलको भ्रमण गरेका थिए।