राजनीति

म एमालेको झोले हुँ, यसमा मलाई गर्व छ: प्रधानमन्त्री ओली

१७ जेठ, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सङ्क्रमण कालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यसअनुसार सक्रिय हुन आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे । 

“म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ”, अध्यक्ष ओलीले भने, “जेमा पनि खोट देख्ने तथा कथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईँहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।”

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वी पथका नाममा राजतन्त्र पुनःस्थापनाको कुरा उठाउनु अप्रासङ्गिक हुने टिप्पणी गरे ।