१८ जेठ, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले हिजो नुवाकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न सोध्न खोज्ने युवालाई कुटपिट गरेको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत उक्त घटनालाई लिएर राजा र धनयुद्धकारीबिच यही फरक हो भन्दै ब्याङे गरेका हुन्। सांसद शाहीले माओवादी कार्यकर्ता एक जना महिलाले पूर्वराजालाई मुर्दावाद भनेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुस्कुराउँदै गुनासो सोधेको प्रसङ्ग जोडेका छन्। उनले एउटा प्रश्न सोध्छु भन्दा समय,स्थान हुनुपर्छ,साइत जुराउनु पर्छ भन्दै गुन्डाहरू लगाएर कुटाएको आरोप लगाएका हुन्।
अध्यक्ष दाहाललाई मञ्चमा प्रश्न सोध्न खोज्ने ती युवा राजावादी समर्थन भएको पुष्टि भएको छ। उनले आफू चर्चामा आउन यस्तो हर्कत गरेको माओवादी समर्थकहरूले बताएका छन्। ती युवाको छातीमा पूर्व राजपरिवारको ट्याटु भएको फोटोसमेत सार्वजनिक भएको छ।
प्रवक्ता शाहीले लेखेका छन्,”अस्ति एकजना माओवादी महिलाले राजाकै अगाडि राजा मुर्दावाद भनिन अनि राजाले मुस्कुराउँदै तपाईँको गुनासो के छ भनेर सोध्नुभयो ! हिजो एक युवाले प्रचण्डलाई एउटा प्रश्न सोध्छु भन्दा समय,स्थान हुनु पर्छ,साइत जुराउनु पर्छ भन्दै गुन्डाहरू लगाएर कुटाए ।।
हो यही नै हो राजा र धनयुद्धकारी बिचको फरक ।।
जो कोही राष्ट्रवादी हुन सक्दैन?”
