समाचार

पूर्वमन्त्री सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर

१८ जेठ, काठमाडौँ। पूर्वमन्त्री रामकुमार सुब्बा विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको  छ। उनीलगायत तीन जना विरुद्ध विनीता कुमारी शाहले गैर कानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन्। 

सुब्बालगायत सोही ठाउँ  इटहरी उपमहानगर पालीका ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो। गोपाल शाह पीडित भनिएकी विनीता कुमारीका ससुरा हुन भने उनका श्रीमान् दिपेस शाह हुन्।

पीडित भनिएकी विनीता कुमारीलाई पूर्वमन्त्री सुब्बा लगायतले जबरजस्ती गैर कानुनी शरीर तलासी तथा बेइज्जती गरेको भन्दै मुद्दा परेको हो।  

उनीहरू विरुद्ध गत चैत १२ गते मुद्दा दायर भएको मोरङ जिल्ला अदालतका स्रेसदार  मनिराम पोखरेलले सूर्य खबरलाई जानकारी दिए।  उनका अनुसार भोलि जेठ १९ गते तारिक तोकिएको छ।