समाचार

यातायात व्यवसायीले चलाएनन् सार्वजनिक यातायात, यात्रुहरू अलपत्र 

१९ जेठ, काठमाडौँ। सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै यातायात व्यवसायीहरूले आज सार्वजनिक यातायातका साधन ठप्प पर्दा यात्रुहरू मर्कामा परेका छन्। 

 व्यवसायीहरूले हिजो आइतबार एक विज्ञप्तिमार्फत सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै लामो तथा छोटो दुरीका यातायात बन्द गरेका हुन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा व्यवसायीहरूले देशैभरि सार्वजनिक यातायात नचलाएका हुन्। काठमाडौँ उपत्यकाका सडकहरूमा यात्रुहरू गन्तव्यमा पुग्नको लागि सवारी साधन कुरेर बसेको देखिन्छ। 

निजी सवारी साधन सञ्चालन भए पनि सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु सडकमा देखिदैनन। ठुला सवारी साधनले अस्तव्यस्त हुने सडक आज भने छाप केही कम भएको देखिन्छ।