समाचार

शिक्षामन्त्री छलफलका लागि तयार नभएपछि विद्यालय शिक्षा विधेयमाथिको छलफल स्थगित

१९ जेठ, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त छलफलका लागि तयार नभएपछि शिक्षा विधेयमाथिको छलफल रोकिएको छ। आज सोमबार विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्रीका कारण बस्न नसकेको हो। 

मन्त्री पन्तले शिक्षक महासङ्घसँग वार्ता गर्न ७ दिनको समय माग गरेका थिए तर उक्त ७ दिनको समयले पनि नपुगेर ३ दिन थप गरिएको थियो। 

मन्त्री आफैले समय माग गरेपछि बैठक ११ जेठमा स्थगित भएर आजको लागि बोलाइएको थियो।

शिक्षक महासङ्घले २९ दिन लामो आन्दोलन पछि सरकारसँग असार १५ मा शिक्षा विधेयक जारी गर्ने सहमति गरेको थियो। समितिलाई सहजीकरण गर्नका लागि उपसमिति  बनाएर छलफल गरी उपसमितिले प्रतिवेदन तयार गरेर समितिमा बुझाएको थियो। 

उपसमितिको प्रतिवेदन अधुरो, अपुरो र शिक्षकका अधिकांश माग नसमेटिएको भन्दै महासङ्घले आपत्ति जाएको थियो। सोही विषयमा सहमति जनाउन मन्त्री पन्तले १० दिनको समय मागे पनि सहमति हुन नसकेपछि आजको लागि बोलाइएको समितिको बैठक बस्दै नबसी स्थगित भएको हो।