दिलिप प्रकाश कार्की/ सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो–‘पर्यटनलाई समृद्धिको आधार बनाउने ।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि २०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो ।
सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छविलाई संसारभरका पर्यटकसम्म पु¥याउन स्थापनादेखि नै बोर्डले विभिन्न क्रियाकलाप गर्दै आएको छ । केबल गन्तव्यको प्रवद्र्धनमा मात्र सीमित नरही बोर्डले हिमालको शान्ति, जङ्गलको रहस्य र संस्कृतिको मिठासलगायतका नेपाली सम्पदाका आत्मालाई विश्वसामु पस्किने गरी काम गरिरहेको छ । कुनै समय ठमेलका गल्ली र पोखराको लेकसाइडमा मात्र झुम्मिने विदेशी पर्यटक यतिबेला नेपालका कुनाकुनासम्म पुग्ने थालेका छन् । पहिले तीर्थाटनमा मात्र घर बाहिर जाने गरेका नेपालीमा अहिले विभिन्न स्थानमा आन्तरिक पर्यटकको रुपमा घुमफिर गर्ने प्रचलन ह्वात्तै बढेर गएको छ ।
नेपाल पर्यटन बोर्डको बोर्डको प्रयासमा नयाँ गन्तव्य उजागर भइरहेका छन्, पुराना कथालाई नयाँ स्वादमा पस्कने क्रम जारी छ । बौद्ध तीर्थयात्रीको चित्तशान्तिको कामना होस् वा साहसिक हिमाली पदयात्रामा रमाउने युवा नै किन नहुन्, सबैका पाइला नेपाली भूमिको स्पर्श गर्न लालायित छन् । जहाँ प्रत्येक पाइलाले एउटा कथा बोल्छ, प्रत्येक दृश्यको स्मरणले मात्र पनि मन प्रशन्न हुन्छ । यो केबल पर्यटनको यात्रा मात्र होइन, नेपाललाई फर्कीफर्की हेर्न चाहने मनको सम्मिलन पनि हो । पर्यटकमा त्यही मनोभाव बगाइरहने वातावरण सिर्जना गर्दै बोर्डले निरन्तर आफ्ना योजना बनाइरहेको छ, नीतिहरूमा सुधार गरिरहेको छ र समयानुकूल रणनीति र क्रियाकलाप परिवर्तन गरिरहेको छ । बोर्डका लागि पर्यटन केवल ’गन्तव्यको व्यापार’ मात्र होइन, यो त विचार, संस्कृति र संवेदनाको अन्तरराष्ट्रिय संवाद पनि हो । यही सन्देश लिएर बोर्ड सन् २०२५ को मार्च ८ र ९ मा अमेरिका, डेनभर (कोलोराडो) मा सम्पन्न ‘ट्राभल एण्ड एड्भेन्चर शो २०२५’ मा सहभागी भयो । दुई दिनसम्म चलेको यस भव्य मेलामा २५० भन्दा बढी अन्तरराष्ट्रिय पर्यटन व्यवसायी सहभागी भए, जहाँ ११ हजारभन्दा बढी आगन्तुकले नेपालका गन्तव्यलाई आँखामा अँगाले ।
अमेरिकामा मात्र होइन, आइटिबी बर्लिनमा सहभागी भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीको उपाधिबाट सम्मानित गरियो । पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा फ्रान्स पुगेको नेपाल पर्यटन बोर्डको प्रतिनिधिमण्डलाई त्यहाँको सरकारले नेपाली पुरातात्विक सम्पदा फिर्ता गर्ने प्रतिबद्धतासमेत दियो । विभिन्न कालखाण्डमा चोरी–तस्करीबाट फ्रान्स पु¥याइएका नेपाली ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम जारी छ । युरोपका विभिन्न मुलुक पुगेर नेपालका गन्तव्य, नेपाली कला–संस्कृति र खान्की तथा आतिथ्यता प्रवद्र्धनमा लागिरहेको बोर्डले युद्ध लडिरहेको रुस पुगेर शान्तिको कामना ग¥यो । रुसी नागरिकलाई युद्धबाट पर पुगेर बुद्धको जन्मस्थल, संसारको सबैभन्दा उचो शिखर सगरमाथा हेर्न निमन्त्रणा दियो । बोर्डले संसारका हरेक कुनामा पुगेर नेपालको आत्मा संसार सामु खोलेर देखाउने प्रयत्न जारी राखेको छ । जहाँ हिमालका कुरा मात्र हुँदैनन्, शान्तिका सन्देश पनि प्रसार भइरहेका हुन्छन् ।
अमेरिका र युरोपका पर्यटकको लागि साहसिक हिमाली यात्राको आकर्षण बनाएको नेपाललाई बोर्डले म्यानमार, थाइल्यान्डजस्ता बौद्ध बहुल राष्ट्रका लागि ’लुम्बिनीको शान्ति सन्देश’को केन्द्रमा रह्यो । छिमेकी भारत र चीनका लागि नेपालले धार्मिक सहिष्णुता र बहुसांस्कृतिक सौन्दर्यको उदाहरण त प्रस्तुत गरिरहेकै छ, संयुक्त अरब इमिरेट्सलगायतका मुस्लिम मुलुकमा पनि नेपाली धार्मिक सहिष्णुता र संस्कृतिको प्रवद्र्धन गरिरहेको छ । नेपाली खानाको स्वाद चखाउने, नेपाली कलाको विविधता प्रस्तुत गर्ने जिम्मेवारी बोर्डले निरन्तर निर्वाह गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको यो सहभागिता केबल ‘डेस्टिनेसन शोकेसिङ’मा सीमित रहेन, नेपालले पर्यटनमार्फत संवादको वातावरण पनि सिर्जना ग¥यो । बोर्डले विश्वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट–पावर’ मार्फत् देशको सामथ्र्यसमेत प्रस्तुत गरिरहेको छ । बोर्डले विदेशमा गएर कार्यक्रम त गर्छ नै, विदेशीलाई नेपाल बोलाएर पनि कार्यक्रम उतिकै संख्यामा गरिरहेको छ । बोर्ड विदेशी पाहुनालाई स्थानीय गन्तव्यमा पु¥याउने काममा पनि निरन्तर लागिरहेको छ । साथै, ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पनि विभिन्न प्रदेशमा ट्राभल मार्ट गर्नेदेखि गाउँ पर्यटन मार्टकोसमेत अवधारणामानिरन्तर काम गर्दै यसका सम्भावना उजागर गर्ने र चुनौती चिर्ने विषयमा बहस गर्दै आएको छ ।
पछिल्लो तीन महिनामा बोर्डले स्वदेश तथा विदेशमा पाँच दर्जनभन्दा बढी पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिसकेको छ । नेपाल सरकारको पहलमा भएको सगरमाथा संवादको व्यवस्थापन गर्ने र पर्यटनमा जलवायु परिवर्तनले पारेको असरबारे बोर्डले छलफल गराएको छ । सगरमाथा संवाद केबल सम्मेलनमा मात्र सीमित बनेन, जलवायु न्याय, सामाजिक समावेशीता र पर्यटनबारे पुनःविचार गर्ने बहसको फोरम पनि बनेको छ । जलवायु परिवर्तनले पर्यटकीय क्षेत्रमाथि पारेको प्रत्यक्ष असरबारे बहस भएको छ । वायु प्रदूषणले नेपाल छवि र हिमालको सुन्दरतालाई छोपिदिँदा पर्यटन उद्योगले भोग्नुपरेको पीडालाई र आगामी रणनीतिबारे पनि बोर्डले सरोकारवाला निकायसँग छलफल गराएको छ । बोर्डले नेपालको पर्यटन क्षेत्रमा महिलाको भूमिका र प्रविधिले सिर्जना गरेका समस्या र सहजताका विषयमा पनि बहस र छलफल गराएको छ ।
यसले सरकारलाई दीर्घकालीन नीति र योजना बनाउन सुझाव दिने कामसमेत गरेको छ । सरकार र निजी क्षेत्रबीच सेतुको रूपमा काम गर्दै आएको छ, बोर्डले कहिले सगरमाथाको आधार शिविरमा पुगेर आरोही, टुर गाइड, भरिया र आरोहणसँग सम्बन्धित व्यक्ति र निकायका समस्या सुन्ने गरेको छ,भने कहिले सात समुद्रपारी गएर विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेको छ । भुटानमा सम्पन्न ’ग्रामीण पर्यटनमा दक्षिण एसियाली महिला सम्मेलन’मा सहभागी भएर बोर्डले नेपालको महिला–नेतृत्वमा आधारित होमस्टे प्रणाली, ग्रामीण महिलाको स्वरोजगार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने मोडेल प्रस्तुत ग¥यो । जसमा नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानका महिला नेतृ र विज्ञहरूबीच बहस भएको थियो । शान्तिका दूत गौतमबुद्धको जन्मस्थान नेपाल भएकाले बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटीएम) गर्दै विश्व शान्तिको कामनासमेत बोर्डले गरिरहेको छ । २०२५ मे २३ देखि २५ सम्म काठमाडौँ र लुम्बिनीमा आयोजना भएको छ । बिआइटीएममार्फत् नेपालले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएको छ । मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरिएको छ ।
त्यसैगरी, जुन महिनाको पहिलो साता हिमालय ट्राभल मार्ट गर्ने भएको छ । बिआइटीएम धर्म र शान्तिका लागि पर्यटन प्रवद्र्धन गर्ने माध्यम हो भने, हिमालयन ट्राभल मार्ट (एचटीएम) साहस, सांस्कृतिक मिश्रण र हिमालप्रतिको आकर्षणको आह्वान हो । यसमा साहसिक पर्यटनका लागि नेपाललाई पूर्वाधार, सेवा र सुरक्षा दृष्टिले सक्षम गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डले डिजिटल रूपमा पर्यटन सेवा प्रदायक, अन्तरराष्ट्रिय खरिदकर्ता र मिडियालाई जोड्ने सञ्चार प्लेटफर्म विकास गरेको छ । यहाँबाट बिटुबी सञ्जाल निर्माण, टुर प्याकेज प्रवद्र्धन, क्यालेन्डर कार्यक्रम र ट्रेड म्याटेरियल उपलब्ध गराउने गरेको छ । आजको नेपाल केबल सगरमाथा आरोहण, पदयात्रा वा साहसिक पर्यटनको गन्तव्यमा मात्र सीमित छैन । नेपाललाई संवेदनशील, जिम्मेवार र अनुभवमा आधारित पर्यटनको अन्तरराष्ट्रिय नेतृत्व गर्न सक्षम बनाउने रणनीति अख्तियार गरिएको छ । भूगोल, वेषभूषा, भोजन र भावना–यी सबै नेपालका सम्पत्ति हुन् । संस्कृति र प्रकृतिको अनुपम केन्द्र नेपालका यिनै सम्पदालाई बोर्डले अन्तरराष्ट्रिय जगतमा प्रस्तुत गर्दै पर्यटकीय राष्ट्रको छवि निर्माण गरिरहेको छ । हिजोको ’पर्यटकीय गन्तव्य’ आजको ’नीतिगत बहसको मञ्च’ बनिसकेको छ ।
यसबीचमा सगरमाथा आरोहणको ७२औँ वर्ष पूरा भएको अवसरमा आयोजित सगरमाथा दिवसमा नेपाल पर्यटन बोर्डले ‘वल्र्ड समिटर्स समिट’ को आयोजना गरेको छ । यसमा सगरमाथा आरोहण गरेका र सगरमाथा क्षेत्रमा काम गरिरहेकालाई एउटै मञ्चमा ल्याएर हिमाल आरोहणका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर र जिम्मेवार बहस चलाएको छ । नेपाल सरकारले नेपालको पर्यटन नीति सुधारका लागि ‘राष्ट्रिय पर्यटन संवाद’ सञ्चालन गरेको छ । बोर्डको समन्वयमा गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै नीति सुधारका लागि सरोकारवाला निकायको सुझाव महत्वपूर्ण भएको र सुझाव अनुसार नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बोर्ड अब एउटा संस्थामा मात्र पनि सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ– जहाँ गन्तव्यहरू बोल्छन्, संस्कृति गुञ्जिन्छ, र प्रत्येक आगन्तुकको हृदयमा सधैँका लागि नेपाल बस्न थाल्छ । आखिर, जुन देशका आकाशमा सगरमाथा मुस्कान बन्न उभिन्छ, त्यो देशको पर्यटन सपना मात्र होइन, विश्वलाई देखाउने सन्देश हुन्छ– शान्ति, संस्कृति र संवेदनाको सुन्दर संवाद ।
(लेखक कार्की नेपाल पर्यटन बोर्डसँग आबद्ध छन् )