१९ जेठ, कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउछिन । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्।
माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताईन । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्ने गरेकी छन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन ।
“ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।
माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताईन । उनसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उहाँले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन्। माछा मार्न उनी समूह बनाएर जाने गर्छिन ।
महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताईन । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताईन । “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।