पर्यटन/संस्कृति

सरकार आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा छः पर्यटनमन्त्री पाण्डे

२० जेठ , म्याग्दी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताएका छन्।

अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने सोचाइ बनाएको बताए ।

“पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,” उनले भने, “पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।”आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरुको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय राजधानीलाई सङ्घीय मन्त्रिपरिषद्बाट अनुुमोदन हुनुपर्नेमा जोड दिए ।