राजनीति

व्यवस्था विरोधी आन्दोलन नरोकेसम्म राप्रपाका नेताहरूले पीएसओ पाउँदैनन् : गृहमन्त्री लेखक 

२१ जेठ, काठमाडौँ । व्यवस्था विरोधी आन्दोलन नरोकेसम्म राप्रपा र राप्रपा नेपालका नेताहरूलाई दिएका पीएसओ नपाउने भएका छन्।गृहमन्त्री रमेश लेखकले आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरूको सुरक्षामा खटिएका प्रहरी नपठाउने बताएका हुन्। 

राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरूले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन नै सरकारले पीएसओहरु फिर्ता गरेको थियो। 

प्रहरीले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्व अध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्व मन्त्री एवं सांसद दीपक सिंह, पूर्व मन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुवबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता बोलाइएको छ। अब उनीहरूले गरिरहेको आन्दोलन नरोकिए सम्म सुरक्षाकर्मी नपाउने गृहमन्त्री लेखको भनाइ छ।  उनीहरूले यही जेठ १५ गते बाट राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै आन्दोलन सुरु गरेका छन्।।