२१ जेठ, काठमाडौं । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।
दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन्। ।
मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका हुन्।
निर्बाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरे । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पाराजय भएको बताए ।
निर्वाचित भएलगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी बुधबार औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन् । उनले प्योङयाङको उक्साहटविरूद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरेका छन्।
उनले भने, “हामी विभाजन र युद्धको घाउ निको पार्नेछौं र शान्ति र समृद्धिको भविष्य स्थापित गर्नेछाँैं । जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो।”
उनले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने र वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताए । अमेरिकाले दक्षिण कोरियाको महत्वपूर्ण स्टील र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाउने तयारी गरिरहेका समय करको घोषणा गर्नुभन्दा केही घण्टाअघि लीले पदभार ग्रहण गरेका हुन्।
“बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचनाजस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ,” लीले भने।
दक्षिण कोरियाको स्टक बजार र मुद्राले चुनावको नतिजाप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ । बुधबार मुख्य स्टक बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ ।