२२ जेठ, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालाहरुलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको आज समापन गर्दै उनले वर्षात्को समयमा हुन सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
दुई दिने अभ्यास कार्यक्रमको समापन गर्दै उनले वर्षात्को समयमा बाढी, पहिरोजस्ता जोखिम बढ्ने भन्दै उद्दारका लागि आवश्यक सामाग्रीको तयारी गरेर जुनसुकै समयमा पनि तयारी अवस्थामा रहन आग्रह गरे । उनले भने, “जुनसुकै समयमा पनि विपद् आउन सक्छ, तयारी अवस्थामा रहनु होला ।”
नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, रेडक्रस लगायतका संस्था तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । प्रदेशमा उद्दारका लागि आवश्यक सामग्री कम भएको भन्दै सरकारले यस वर्षको बजेटमा उद्दार सामाग्री व्यवस्थापन गर्ने गरी काम गर्ने उहाँले बताउनुभयो । यस्ता अभ्यासले उद्दारमा सहयोग पुग्ने उनले बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपद्लाई व्यवस्थापन र क्षति न्यूनिकरण कठिन हुने गरेको बताए । उनले भने, “विपद्बाट हुने क्षति न्यूनिकरण गर्दै व्यवस्थापनको पक्षमा लाग्नुपर्छ ।” विपद्मा हुनसक्ने सम्भावित क्षतिलाई सबैको सहकार्यले कम गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली सेनाका मध्यपृतनाका प्रमुख हरेन्द्र पाठकले नेपालका हरेक क्षेत्रमा हुने विपद्मा खटिने सुरक्षाकर्मीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए । विपद्को समयमा खटिने जोसुकैको पनि मनोबल बढाउन सके क्षति कम गर्न सकिने उनको भनाइ थियो ।
विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा मनसुन तथा बाढीजन्य प्रकोपको घटनामा ९१४ जनाको ज्यान गएको छ । यस्तै १०१ जना बेपत्ता हुनुका साथै ७५० जना घाइते भएको सो अवसरमा जानकारी दिइयो । गत वर्ष डुबान र पहिरोमा परि २२४ जनाको मृत्यु भएको थियो । यस्तै १५८ जना घाइते भएका थिए भने २८ जना बेपत्ता भएका थिए ।
गत वर्ष डुबान र पहिरोमा परेका १३ हजार ३०० जनाको उद्धार गरिएको थियो । करिब २५ पुलमा क्षति भएको र ३७ वटा राजमार्गमा क्षति पुगेको तथा ११ जलविद्युत् केन्द्र प्रभावित भएको कार्यक्रममा जानकारी दिइयो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना २०८२ अनुसार आगामी मनसुनमा करिब २० लाख मानिस र चार लाख ५० हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।