२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याए । उनले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमतालले फुट्ने खतरा रहेको बताए ।
“जलवायु परिवर्तनका कारण हिमशृङ्खला जोखिममा छन् । हिमताल फुट्ने जोखिम बढेर गएको छ । यी विषयलाई बढी उजागर गर्नुपर्ने आवश्यकता छ, हिउँ पग्लिएर कालो चट्टानको रुपमा मात्र देखिन्छ । यसलाई गम्भीर भएर सोच्नुपर्छ, नेता रिजालले भने।
राससको तस्बिर प्रदर्शनीले नेपालका पहमशृङ्खलालाई राम्रोसँग नियाल्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले भने, “नेपालमा सुन्दर हिमशृङ्खलाहरु छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।”