२३ जेठ, ओखलढुङ्गा। यहाँबाट २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २१ गर्भवती सुत्केरीको उद्धार गरिएको हो ।
‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी अवस्थामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडाँैका विभिन्न अस्पतालमा पठाइएको पौडेलको भनाइ छ ।
ज्यान उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ । सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय तथा गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताईन । “पहिलापहिला दुर्गमका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो, अहिले हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ”, उनले भनिन, “यो कार्यक्रम निकै प्रभावकारी छ, आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।”
विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरुले उपचार पाउने त्यसो गर्न नसक्ने उपचार अभावमा अकालमा मृत्यु सहन बाध्य हुने अवस्था थियो ।