२३ जेठ, काठमाडौँ। प्रहरीले ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौँको नागढुंगाबाट एक भारतीय नागरिक पक्राउ गरेको छ। पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४.८३ ग्राम सुन बरामद भएको हो।
आजको बजार भाउ अनुसार उक्त सुनको मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ रहेको छ।
झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको हो।
प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गर्दा उनलाई पक्राउ गरिएको बताइएको छ । थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।