अन्तर्राष्ट्रिय

क्यानडा र चीन ‘सञ्चार नियमित गर्न’ सहमत

२३ जेठ, काठमाडौं । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबीच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।

“मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी गरेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिएका छन् ।

उनीहरूबीच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।

सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन–क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताएका थिए।

बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्त रूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् ।