२४ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश जटिल वास्तामा गएकाले अब सत्ताको चाबी काँग्रेसले लिनु पर्ने धारणा राखेका छन्। उनले आज शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा काँग्रेस सरकारमा भएको तर सत्ताको चाबी नभएको बताएका हुन्।
उनले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा देश गइरहेकोले काँग्रेस एउटा मध्यमार्गी पार्टी भएको हिसाबले सत्ताको चाबी लिनु पर्ने बताएका हुन्। कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जाने र अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्ने दाबी गरे।
वरिष्ठ नेता कोइरालाले सत्ताको चाबी वामपन्थीसँग भएको बताए। उनले भोलिको प्रतिस्पर्धी एमाले भएको र उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सक्नु पर्ने धारणा व्यक्त गरे। गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता हुन नसक्ने नेता कोइरालाको भनाइ छ।