२४ जेठ,चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनताको माझमा पुगेको बताएका छन्।
आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।” अन्य दलहरुसँगको कार्यगत एकता एवं एकीकरण गर्ने क्रममा अघि बढेको उनले जानकारी दिए।
फरक प्रसङ्गमा उनले पूर्वप्रधानमन्त्रीलाई अख्तियारले गरेको अनुसन्धानलाई प्रतिशोधको आरोप लगाए । उनले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत निर्णय भन्ने गरिएको बताए। उनले भने, “जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तररदायी बनाउने कुरा राम्रो हो, तर त्यसलाई गलत प्रयोग गर्दा प्रतिशोध हुन्छ ।”
सरकारले भिजिट भिसाको विषयमा आयोग बनाएर छानबिन गर्नुपर्ने उनले बताए। संसद्मा प्रश्न उठिसकेपछि राज्यले त्यसलाई अध्ययन गर्नका लागि आयोग बनाएर छानबिन गर्नुपर्छ भन्दै उनले माओवादी केन्द्रले अहिले आयोगको माग गरेको बताए।