२४ जेठ, काठमाडौँ। शहरी विकास मन्त्रालयले नेपाली काँग्रेसको युवा सङ्गठन तरुण दलको भवन निर्माणको लागि तीन करोड बजेट विनियोजन गरेको छ। ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको तरुण दलले विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो।
शहरी विकास मन्त्रालय काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सम्हालेका छन्। उनी सरकारमा उपप्रधानमन्त्री समेत हुन्।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक वक्तव्य जारी गर्दै बजेट विनियोजन भएको खुलाएका हुन्। उनले भवन निर्माणको लागि बजेट विनियोजन गरेकोमा पार्टी सभापति शेरबहादुर देउवा र बजेट विनियोजन गरिदिने शहरी विकाशमन्त्री सिंहलाई धन्यवाद दिएका छन् ।
सरकारी बजेट कुनै पनि राजनीतिक पार्टीको कार्यालय निर्माणका लागि छुटाइनु कत्तीको जायज होला भन्ने प्रश्न जन्मिएको छ। बर्से पिच्छे सरकार परिवर्तन हुने अनि सरकारमा सामेल भएका प्रत्येक दलले पार्टीको कार्यालय निर्माणका लागि राज्यको ढुकुटी प्रयोग गर्दै जाने हो भने जनतामाझ कस्तो सन्देश जान्छ त्यो भविष्यले देखाउने छ।