२५ जेठ, काठमाडौँ। राजा फर्काउने आन्दोलन केही दिनमै तुहिएको छ। राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समिति भताभुङ्ग भएको सो समितिका प्रवक्ता स्वागत नेपालले सङ्केत गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत समितिका प्रवक्ता नेपालले आफू उक्त समितिबाट बाहिरिएको सङ्केत गरेका हुन्। उनले सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा आफू जोडिएको भए पनि बुढाहरूको स्वार्थ र अहङ्कारले आन्दोलनले सहि दिशा दिन नसकेको आरोप लगाएका हुन्। उनले एक जना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर अन्तिममा थपेर आफूलाई प्रवक्तामा राखिएको समेत बताएका छन्।
आफूले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गरेको दाबी गरे तर, बुढाहरूको स्वार्थ र अहङ्कारले आन्दोलनलाई कमजोर पारेको उनको आरोप छ। उनले लेखेका छन्,”चाबहिलमा भएको समीक्षा बैठक मिडियाको बिचमा गरेर भताभुङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे। तर युवाले तुहिन दिने छैन आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्विकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला।”
अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने प्रवक्ता नेपालको भनाइ छ।