२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरे ।
स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राखे । उनले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले हेमराज अधिकारी राजनीतिक प्रेरणाको स्रोत भएको बताउँदै उनको पृष्ठभूमिले आफूलाई राजनीतिमा सक्रिय हुने उत्साह भरेको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले स्वर्गीय अधिकारीले कठिन राजनीतिक यात्रा तय गर्दै जनताको अधिकार र विकासलाई केन्द्रबिन्दु बनाएर लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गर्नुभएको स्मरण गरे ।
कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले बिपी कोइराला, किसुनजी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको सामिप्यतामा रहेर स्वर्गीय अधिकारीले पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएको बताए।
कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायतले प्रजातन्त्र सेनानीका रूपमा अधिकारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताए।
नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको सम्मानका लागि पार्टीले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । डा हेमाङ अधिकारीले स्वर्गीय अधिकारीले प्रजातान्त्रिक योद्धाका रूपमा सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान दिएको बताए ।
नेपाली कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य थिए । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गरेका थिए । उनी कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत थिए ।
विसं १९८८ मा भोजपुरको दिङ्लामा जन्मिएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखन कार्यमा सक्रिय थिए। उनको ‘आजको नेपाल’ पुस्तक प्रकाशित भएको छ ।