ब्रेकिङ न्युज

अध्यक्ष नेपालको दाबीः पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणको अख्तियारको अनुसंधानमा मेरो सहयोग रहन्छ

२५ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त प्रकरणबारे गहन अनुसन्धान आवश्यक रहेको बताए । कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको जानकारी दिँदै उनले भने, “अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ, अनुसंधानमा मेरो सहयोग रहन्छ । तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानुनी उपचार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्ना कानुनविद्ले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको जानकारी दिए ।

पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले लोकतन्त्र र संविधानको रक्षा तथा देश र जनताको हितका पक्षमा स्थापना गरिएको पार्टी सुशासन कायम गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गए ।

बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी सचिव सावित्रा भुसालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएको पार्टीको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू पार्टीलाई कमजोर बनाउन लागेका आरोप लगाए ।