२६ जेठ, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग वाइसिएलको महाधिवेशन पछि चयन गरेको पदाधिकारीको संख्या प्रति कटाक्ष गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले वाइसिएलले आन्तरिक विवाद थाम्न नसकेर ७५ जनाको पदाधिकारी बनाएपछि सङ्गठनात्मक अराजकताले सामाजिक अराजकता निम्ताएको भएको भन्दै आलोचना गरेका हुन्।
महासचिव पोखरेलले सङ्गठनात्मक अराजकताले सामाजिक अराजकताको जन्म भएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो भन्दै माओवादी पार्टीको आलोचना गरेका हुन्। एमालेले पनि पोखरामा केही हप्ता अघि आफ्नो पार्टीको युवा सङ्गठन यूथ फोर्सको महाधिवेशन सम्पन्न गरेको थियो। उसले भने निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी चयन गरेको थियो।
उनले लेखका छन्,”वाइसिएले ७५ जना पदाधिकारी नै बनाएछ । सङ्गठनात्मक अराजकताले सामाजिक अराजकताको जन्म भएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो।”
आन्तरिक गुट र विवादमा चुर्लुम्म डुबेको वाइसिएल अन्ततः सङ्गठन निर्माणमा पनि त्यसको दुर्गन्ध राम्रैसँग फैलाउन सफल बनेको छ। आफ्नै पार्टी भित्रबाट केही काम गर्न नसकेको र पदलोलुप बन्दै गएको भन्दै चर्को आलोचना भइरहेको बेला साँच्चै त्यही अराजक गतिविधिकै नमुना हौँ भन्ने नराम्रो सन्देश वाइसिएलले दिएको छ।
जुनसुकै पार्टीको मेरुदण्डको रूपमा क्रियाशील हुने सङ्गठनको रूपमा युवा सङ्गठनलाई लिने गरिन्छ तर,वाइसिएल भने आन्तरिक विवादले ग्रस्त भएको छ। कुनै समय वाइसिएल भन्न साथ जोस जाँगरले भरिपूर्ण युवा भन्ने पहिचान बनाएको यो सङ्गठन अहिले भने विरोधीहरूको आलोचनाको उदाहरण बनेको छ।
केही दिन अघि सम्पन्न तेस्रो महाधिवेशनले पुष्प ओलीको नेतृत्वमा नयाँ सङ्गठनको संरचना बनाएको थियो। जुन संरचना विवादमा परेको छ।
