२६ जेठ, काठमाडौँ। नेपाल बैङ्क लिमिटेडका पूर्व अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दा दर्ता गर्ने तयारी गरेको । सरकारी स्वामित्वको बैङ्कमा अध्यक्ष रहेका बेला कर्जा प्रवाह गर्दा घुस लिने गरेको उजुरी पछिको छानबिनपछि अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गर्न लागेको हो।
उनी विरुद्ध आजै अख्तियारले घुस मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ। अधिकारीलाई अख्तियारले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
उनले चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको अख्तियारले जनाएको थियो।
अख्तियारको छानबिनमा परेसँगै डा.अधिकारीलाई केन्द्रीय बैङ्कले अनुचित क्रियाकलाप गरेको भन्दै जरिवानासहित अध्यक्ष पदबाट हटाएको थियो।